जिका भाइरस लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको जीवाणु हो । यो पहिलोपटक १९४७ मा युगान्डाको जिका नामक जंगलका बाँदरमा देखापरेको हो । मानिसमा भने जिका भाइरस सन् १९५२ मा पहिलोपटक भेटिएको हो । त्यसपछि अफ्रिका, अमेरिका, एसिया प्रशान्तमा पनि यो भाइरस देखिन थाल्यो ।
२०१५ मा ब्राजिलमा दुई हजार पाँच सयभन्दा बढी मानिसमा यो रोग देखिएको थियो । यो भाइरस चर्चामा तब आयो, जब यो जिका भाइरस संक्रमित गर्भवती महिलाहरूले सानो टाउको र अविकसित दिमाग भएका बच्चा जन्माउन थाले ।
जिका भाइरस फ्लाबी भाइरस परिवारमा पर्छ । यो भाइरस एडिज एजिप्टिकस नामक लामखुट्टेको टोकाइबाट सर्छ । एडिज लामखुट्टेले डेंगु पनि सार्छ । नेपालको तराई क्षेत्रमा विषेशगरी कैलाली, दाङ, चितवन, पर्सा र झापामा यो लामखुट्टे भेटिएको एक अनुसन्धानले पुष्टि गरेको छ ।
यो भाइरस संक्रमितको विर्यमा पनि देखापरेको छ । डब्लुएचओले यौनसम्पर्कबाट एक महिलालाई यो भाइरस सरेको सार्वजनिक गरेको छ । यो भाइरस शरीरभित्र पसेपछि २–४ दिनमा लक्षणहरू देखापर्न सुरु हुन्छ । तर, केवल २० प्रतिशतमा मात्र यो रोगका लक्षण देखापर्छ । यो रोगको लक्षणहरूमा मध्यम ज्वरो आउने, आँखा रातो हुने, बिमिरा आउने, मांसपेशी र जोर्नी दुख्ने हुन्छ । करिब दुईदेखि सात दिनमा यो रोग आफैँ ठीक हुन्छ । तर, यो भाइरसले केही मानिसको दिमागमा असर गरेर ग्युलिएनबेरी सिन्ड्रोम नामक रोग लाग्न सक्छ । तर, यो भाइरस गर्वभती महिलामा सर्यो भने बच्चालाई असर गर्न सक्छ ।
बच्चा जन्मिदा टाउको सानो हुने, दिमाग अविकसित हुनुका साथै मस्तिष्कका विभिन्न समस्या देखिन सक्छ । गर्भमा भएको बच्चा खेर जाने/नजाने अहिलेसम्म पुष्टि भएको छैन । यो भाइरस पोलिमरेज चेन रियाक्सनका माध्यमबाट पहिचान गर्न सकिन्छ ।
जिका भाइरसको अहिलेसम्म कुनै औषधि र खोप विकास भएको छैन । त्यसैले यस रोगलाई सर्न नदिनु नै एक मात्र विकल्प हो । विशेषगरी गर्वभती महिला वा गर्भधारण गर्न चाहने महिलालाई हाल जिका भाइरस प्रभावित क्षेत्रमा नजान डब्लुएचओले सुझाब दिएको छ । साथै, लामखुट्टेको टोकाइबाट बच्ने कुरामा पनि जोड दिएको छ




No comments: