गर्मीलाई रोगैरोगको मौसम भन्न सकिन्छ। विशेष गरी गर्मीमा टाइफाइड, आँखासम्बन्धी रोग वा झाडापखाला आदिले महामारीकै रूप लिन्छ। यी रोगहरूमा उचित उपचार गर्न सकिएन भने रोगी अङ्गभङ्ग हुनुका साथै मृत्युशय्यामा सम्म पुग्नसक्छ। अहिले टाइफाइडका रोगीहरूको संख्या बढ्न थालेको छ। वाषिर्क रूपमा विश्वका झन्डै ६ लाखभन्दा बढीले ज्यान गुमाउनुका साथै टाइफाइडबाट २ करोड मानिस प्रभावित हुने गरेको तथ्यांक स्वास्थ्य संगठनका प्रतिवेदनहरूमा उल्लेख छ।
कसरी हुन्छ टाइफाइड ?
टाइफाइड सालल्भोबेला प्याराफाइटिक नामक ब्याक्टेरिया वा साल्मोनेला टाइफी नामक ब्याक्टेरियाका कारणले हुन्छ। यी ब्याक्टेरियाहरू रोगीको दिसा-पिसाबमा हुन्छन्। दिसा-पिसाबमा रहेका ब्याक्टेरियाहरू विभिन्न माध्यम भएर हामीले खाने खाना, पानी आदिमा मिसिन्छन्। यस्ता दूषित खानपानबाट टाइफाइडका जीवाणुहरू शरीरभित्र पुगी रगतमा प्रवेश गर्छन् र शरीरभरि फैलन्छन्। यी जीवाणुहरू प्रवेश भएपछिका दुई हप्ताभित्र रोगको लक्षण देखिन्छ।
टाइफाइडका लक्षण
टाइफाइड लागेको पहिलो हप्ता ज्वरो आउने, टाउको दुख्ने, खान रुचि नहुने, शरीर दुख्ने, कमजोरी महसुस हुने, वान्ता लाग्ने, पेट फुल्ने, कब्जियत हुने एवं पखाला लाग्ने समस्या उत्पन्न हुन्छन्। ज्वरो बढेर १ सय ४ डिग्रीसम्म पुग्छ। ज्वरो दोस्रो हप्तासम्म कायम रहन्छ। फियो सुन्निन्छ र पेट वा पिठ्युँमा राता दानाहरू देखिन्छन्। जसलाई थिचिदियो भने हराउँछ। बिरामी सिकिस्त नै हुन्छ-कमजोरीले बेहोस हुने, मुख, जिब्रो सुक्ने खतरनाक लक्षण पनि देखापर्छन्।
तेस्रो हप्तासम्म पनि उपचार पुर्याउन सकिएन भने बिरामी बेहोस हुन्छ। आन्द्रामा घाउ हुनुका साथै रगत बग्छ। आन्द्रामा प्वाल पर्नसक्ने भएकाले रोगीले ज्यान गुमाउँछ।
टाइफाइडका जीवाणुहरू रगतका माध्यमबाट शरीरका अङ्गअङ्गमा पुग्छन्। यसबाट निमोनिया हुने, मृगौला सुन्निएर पिसाबबाट रगत आउने, पित्तथैली सुन्निने, कलेजो र फियो बढ्ने, हाडहरूमा एवं मस्तिष्कमा असर गरी बिरामी बहिरो वा अन्य कुनै किसिमको अपाङ्गसमेत हुनसक्छ। गर्मी मौसम टाइफाइडको दृष्टिले खतरनाक भएकाले सामान्य लक्षणहरू देखिनासाथ बिरामीलाई अस्पताल पुर्याउनुपर्छ।
उपचार विधि
ज्वरो कम गर्न पारासिटामोल दिनुपर्छ। ज्वरो बढ्दै गएको खण्डमा टाउको, निधार एवं हातगोडामा पानीपट्टी दिनुपर्छ।




No comments: