जाडोमा छाला कसरी जोगाउने ???



छाला जुनसुकै मौसममा पनि प्रभावित हुन्छ । जाडो मौसममा छाला सुख्खा हुनु सबैभन्दा नराम्रो प्रभाव हो । यसबेला चिल्लो छाला पनि सुख्खा हुन्छ र सुख्खा छाला त झनै सुख्खा हुन्छ । जाडोमा छाला, हातखुट्टा, कुर्कुच्चा फुट्ने समस्या बढी हुन्छ । साथै यस मौसममा छाला खुम्चिन्छ र कालो हुन्छ । जाडोमा मानिसहरु घाममा बढी बस्ने हुनाले पनि छाला कालो हुन्छ, यो भनेको संक्रमणबाट हुने समस्या हो कुनै रोग होइन । तर जाडो मौसममा छालामा हुने धेरै रोगहरु पनि छन् । साधारण रोगहरुमा हातखुट्टाका औंला सुन्निएर रातोरातो हुने हुन्छ । जाडोबाट छालालाई जोगाउनका लागि छालाको रेखदेख गर्नु एकदमै आवश्यक छ । सबैभन्दा पहिला त छाला सुख्खा हुननदिनु हो । त्यसको लागि छालालाई मोइस्चर प्रयोग गर्नु आवश्यक छ ।

पहिलेपहिले जाडोयाममा तोरीको तेल लगाउने चलन थियो । त्यो समयमा यो चलन ठिक भएता पनि अहिले आएर ओजनतह पातलिएको छ, वातावरण प्रदुषण तथा ग्लोबल वार्मिङका कारणले तोरीको तेल लगाउँदा घामको कुप्रभाव पर्न जान्छ । बरु त्यसको सट्टामा नरिवलको तेल लगाउँदा राम्रो हुन्छ । अझ अलिकति बढी पैसा खर्च गर्ने हो भने जैतुनको तेल प्रयोग गर्नु राम्रो हुन्छ । साथै घिउकुमारी वा एलोभेराको तेल पनि प्रयोग गर्न सकिन्छ । नुहाएपछि तेल लगाउँदा राम्रो हुन्छ । बढी उमेरका व्यक्तिहरुको छाला ज्यादा सुख्खा हुन्छ । यस्ता व्यक्तिहरुले नुहाइसकेपछि शरीरको पानी हातले पुछ्ने र तेल लगाउने हो भने बढी लाभ हुन्छ । यसो गर्दा तेल र छालाको माझमा पानी अड्केर बस्छ र कृत्रिम पसिनाको काम गर्छ । छालाको लागि यो एकदमै राम्रो हो ।
घर बाहिर निस्कदा छाला सुख्खा हुनेभएकाले चिलाउने र डाबर उठ्ने समस्या बढी हुन्छ । यस्तो बेला मोस्चराइजर क्रिम आफूसँग लिएर हिँड्ने र चिलाएको ठाउँमा कन्याउनुको सट्टा मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ ।
अर्को कुरा, छालामा डाइरेक्ट ऊलनको लुगा, सिन्थेटिक लुगा वा थर्मकोट लगाउनु हुँदैन । छाला धेरै सुख्खा हुने व्यक्तिले पियोर कटन लगाएरमात्र बाहिरबाट अरु ऊलनको लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा छालाको रौं ठाडो हुन्छ । टाइट लुगा लगाउँदा ति रांैहरु तानिन्छन् जसकारण चिलाउने तथा विवीरा निस्कन्छ । यस्तो हुन नदिन आफ्नो छालालाई चिल्लो राख्नुपर्छ । साधारणतः मानिसहरु जाडोमा सन्ब्लक क्रिम नलगाउँदापनि हुन्छ भन्ने ठान्छन् । तर यो गलत धारणा हो । झन् जाडोमा तातो हुनको लागि घाममा बढी बस्ने गरिन्छ र सूर्यको विकिरणले हाम्रो छालामा प्रत्यक्ष प्रभाव पार्छ । त्यसकारण सन्ब्लक १५ देखि ३० एस.पि.एफको प्रयोग गर्नु राम्रो हुन्छ ।
जाडोमा साबुन र फेसवास पनि मोइस्चरयुक्त प्रयोग गर्नुपर्छ । साथसाथै गुलाबजल, ग्लीसिरिन पनि प्रयोग गर्न सकिन्छ । धेरै सुख्खा छालाको लागि सन्ब्लकसँगै लोसन र तैलीय छालाको लागि जेलको प्रयोग गर्न सकिन्छ ।

No comments:

| Copyright © 2013 khabar chautari