आधा रातमा खुट्टाको बुढीऔंलामा अचानक
पीडा अनुभव हुन्छ ? जोर्नी रातो हुन्छ,
थिच्दा खाडल हुन्छ वा ज्वरो आउँछ ?
बुढीऔंलाको जोर्नीमा एकतिर
वा दुईतिर सुन्निन्छ ?
कहिलेकाहीँ नमज्जाले दुख्छ कि ?
यस्तो भए तुरुन्त
चिकित्सकको सल्लाह लिनोस् ।
तपाईंलाई अर्थराइटिस अर्थात् बाथ रोग
हुन सक्छ ।
हाडजोर्नी विशेषज्ञकहाँ पुग्ने
गरेका बाथ रोगीको तथ्यांक विश्लेषण
गर्दा नेपालको करिब पाँच प्रतिशत
जनसंख्या बाथ रोगबाट प्रभावित छ ।
‘हाम्रो मुलुकमा मुख्यतः रुम्याटाइड
अर्थराइटिस र गाउट
अर्थराइटिसका रोगी बढी छन्,’ नेपाल
मेडिकल कलेज,
अत्तरखेलका हाडजोर्नी शल्यचिकित्सक
प्रा.डा. रामकेवल साह भन्छन् । गाउट
अर्थराइटिसलाई नेपालीले बाथ रोग
(गठिया) का रूपमा बुझ्ने गरेका छन् ।
गाउट अर्थराइटिस अर्थात् बाथ
जोर्नी सुन्निएर दुख्नु अत्यन्त
पीडादायक रोग हो ।
यसमा जोर्नी दुख्छ । शरीरमा युरिक
एसिडको मात्रा बढ्छ । साना-
ठूला जोर्नी सुन्निन्छन् । युरिक
एसिडको कण (क्रिस्टल)
जोर्नीहरूमा जम्मा हुन्छ ।
रगतमा पाइने अम्ल अर्थात् युरिक
एसिड उच्च मात्रामा उपस्थित
हुँदा यो रोग लाग्छ । युरिक अम्ल
पिसाबको खराबीले उत्पन्न हुन्छ ।
यो प्रायः मृगौलाबाट बाहिर आउँछ ।
‘मृगौलाबाट पिसाब आउन कमी भए
वा पिसाब बढी लाग्न थाले
रगतमा युरिक अम्लको स्तर बढ्छ,’
प्रा.डा. साह भन्छन्, ‘युरिक
अम्लको क्रिस्टल विभिन्न
जोर्नीहरूमा जम्मा हुन थाल्छ ।’
रक्षात्मक कोसिकाहरूले
यो क्रिस्टललाई ग्रहण गर्छन्
अनि जोर्नीको स्थानमा दुखाइ बढाउने
पदार्थ उत्पन्न हुन्छ । यसैले प्रभावित
भएपछि जोर्नीसमेत खराब हुन सक्छ ।
अमेरिकाको नेसनल इन्स्िटच्युट अफ
अर्थराइटिस एन्ड मस्क्युलोस्केलेटल
एन्ड स्किन डिजिज
(एनआईएएमएस) का अनुसार
अर्थराइटिसको सबैभन्दा पीडादायक
प्रकार गठिया अर्थात् बाथ हो ।
शरीरमा अत्यधिक युरिक
एसिडको निर्माणपछि यो समस्या देखिन्छ
। यो युरिक एसिडले तिखो युरिक
एसिडको क्रिस्टल जोर्नी र
पैतालामा जम्मा हुन्छ । यस्तै,
छालाको तल जम्मा भएको युरिक
एसिड डल्लो जस्तो देखिन्छ ।
मृगौलामा समेत पत्थरी हुन्छ ।
‘धेरैजसो व्यक्तिको बाथको पहिलो एट्याक
खुट्टाको बुढीआंैलामा देखिन्छ,’ प्राडा.
साह भन्छन्, ‘यसको एट्याकले मान्छेलाई
निद्राबाट समेत ब्यँुताउँछ, घाउजस्तै
तीव्र पीडा अनुभव हुन्छ ।’
यसमा खुट्टाको बुढीऔंला रातो र
सुन्निएको देखिन्छ ।
खुट्टाको बुढीऔलासँगै बाथ कुहिनो,
खुट्टाको माथिल्लो मध्यभाग,
कुर्कुच्चा, गोलीगाँठा, नाडी, औंलासमेत
प्रभावित हुन्छन् ।
छिट्टै उपचार गरेर नियन्त्रण
नगर्दा बाथले जोर्नीलाई
स्थायी नोक्सानसमेत पुग्छ ।
रुम्याटोइड
अर्थराइटिसको प्रारम्भिक
अवस्थामा जोर्नी दुख्छ । बाथ रोगीले
नियमित रूपमा मृगौला परीक्षण
गराउनुपर्छ । नियमित परीक्षण
नगर्दा पत्थरी भएर किड्नी फेल हुने,
प्रत्यारोपण
तथा डायलसिसको अवस्थासमेत आउन
सक्ने भएकाले युरिक
एसिडका समस्या भएकाहरूले विशेष
चनाखो हुनुपर्ने प्राडा. साह बताउँछन् ।
एनआईएएमएसका अनुसार
वैज्ञानिकहरूले एक करोड २० लाख २०
वर्ष वा यसभन्दा बढीका वयस्कले
जीवनको कुनै समयमा आफूलाई बाथ
भएको बताउने आँकलन गरेका छन् ।
यो रोग बच्चा र किशोरहरूमा दुर्लभ
मानिन्छ । ४० देखि ५० वर्ष उमेर
समूहका पुरुष
महिलाको दाँजोमा बढी मात्रामा बाथको चपेटामा फस्छन्
। महिलाहरू भने
रजोनिवृत्ति हुनुअघि कमै
मात्रामा बाथको सिकार हुने गरेका छन्
। अंग प्रत्यारोपण गराएकाहरूमा बाथ हुने
सम्भावना सबैभन्दा बढी हुन्छ ।
अमेरिकन कलेज अफ
रुम्याटोलोजीका अनुसार बाथले ३० लाख
अमेरिकीलाई प्रभावित पारेको छ ।
रुम्याटोलोजिस्टले बाथको उपचार
प्रक्रिया सुरु गर्ने भए
पनि विशेषज्ञको अभावमा नेपालमा भने
हाडजोर्नी विशेषज्ञहरूले नै
त्यसको बिँडो थाम्दै आएका छन् ।
बाथ असाध्य रोग होइन
चिकित्सा विज्ञानमा भएको प्रगतिका कारण
अब बाथ रोग असाध्य रहेन । यो रोगलाई
निको पार्न औषधि सँगसँगै
शल्यक्रियाको समेत प्रमुख
भूमिका हुन्छ ।
बाथका धेरैजसो केसमा घँुडा विकारग्रस्त
हुन्छ । मानव
घुँडा एउटा जोर्नी हो जसको माथिको ‘फिमर’
हाड र तलको ‘टिबिया’
हाडको बीचमा कार्टिलेज हुन्छ ।
समयसँगै यो कार्टिलेज खिइन थाल्छ
वा कुनै कारणवश टुटफुट हुन्छ । फलस्वरूप
माथि र तलका हाड आपसमा रगडिन
थाल्छन् ।
प्राडा. साहका अनुसार बाथ उपचारका चार
खण्ड छन्: जोर्नीमा कम दबाब,
व्यायाम, औषधि र शल्यक्रिया ।
जोर्नीमा दबाब कम गर्न एउटै
समयमा बढी काम गर्नु हँुदैन ।
मोटो तलुवा भएका जुत्ता लगाउनुपर्छ ।
लठ्ठी टेकेर हिँड्नुपर्छ । शरीरको तौल
कम गर्नुपर्छ । घुँडाका केही खास
प्रकारको व्यायाम
यो रोगको रोकथाममा धेरै
सहयोगी हुन्छ । तर यस्ता व्यायाम भने
चिकित्सकको परामर्शमा मात्र
गर्नुपर्छ । व्यायामसँगै रोगीलाई
केही विशेष औषधिसमेत दिइन्छ ।
घुँडामा असहनीय पीडा भएकाहरू,
औषधिबिना काम नचल्नेहरू,
ओछ्यानमा कोल्टो फेर्दा दुखाइ अनुभव
गर्नेहरू, अलिकति पनि हिँड्न
नसक्नेहरूका लागि घुँडा प्रत्यारोपण नै
एक मात्र विकल्प हो ।




No comments: