इन्सेफ्लाइटिसबाट टाढा रहन लामखुट्टे भगाउने उपाय...



गर्मीमा लामखुट्टेले हाम्रो निद्रा भगाउनुका साथै औलोज्वरो -मलेरिया) कालाज्वर, मस्तिष्क ज्वरो, इन्सेफ्लाइटिस, हात्तीपाइले रोग -फाइलेरिया) जस्ता डरलाग्दा घातक सरुवा रोगहरू सारेर दुःख दिन्छ। दिनमा लामखुट्टेहरू रुख, झाडी, घरका कुना, भाँडाकुँडाका अन्तरकुन्तरमा लुकेर बस्छन्। रातमा मानिस सुतिसकेपछि मानिसको गन्ध चाल पाएर यताउति उड्दै टोकेर विभिन्न रोगका जीवाणु सार्छन्। लामखुट्टेले सार्ने कतिपय रोगले मानिसको ज्यानसमेत लिनसक्छन्। त्यसैले गर्मी र वषर्ामा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। यसका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ।

घरवरिपरि पानी जम्ने खाल्डाखुल्डीहरू पुरेर सफा गर्नुपर्छ। अनावश्यक झाडी तथा पोथ्राहरू हटाउनुपर्छ।

घरका हरेक कोठाका कुनाकाप्चामा धूलो, मैलो सफा गर्नुपर्छ। भित्तामा छिद्र तथा चिराहरू भए लिपपोत गरी टाल्नुपर्छ।

घर, गोठ, पानीको मुहान छेउछाउ डीडीटी पाउडर छरेर सफा राख्नुपर्छ।

राति सुत्नुअघि हातखुट्टामा हल्का भिक्स दलेर सुत्नुपर्छ। भिक्स नभए कपूरको तेल वा लामखुट्टे भगाउने क्रिम दल्न सकिन्छ।

सुत्नुअघि खाटमुनि, झ्याल र सिरानीवरिपरि प्याज र लसुन काटेर राख्नाले लामखुट्टे भाग्छन्। तीतेपातीको झोलले पनि लामखुट्टे हटाउने हुँदा घरका भित्ता र कुनाकाप्चामा तीतेपातीको झोल छर्कनुपर्छ।

मानिसको शरीरबाट निस्कने पसिनाको गन्धले लामखुट्टेलाई आकषिर्त गर्ने हुँदा गर्मीमा भरसक दिनहुँ नुहाउनुपर्छ।

राति सुत्नुअघि लसुन र भिटामिन बीयुक्त खानेकुरा खानुपर्छ। सुत्ने कोठामा हसिना र तिउरी फूलको गुच्छा राख्दा पनि लामखुट्टे भाग्छन्। साँझ पर्नुअघि सुत्ने कोठाका झ्यालढोकाहरू बन्द गर्नुपर्छ। झ्यालमा जाली प्रयोग गर्नुपर्छ। अबेरसम्म घर बाहिर बस्नुहुँदैन। सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ।

लामखुट्टेले टोकेर फोका वा डाबर उठे पुदिना वा तुलसीका पात पिसेर त्यसको लेप लगाउँदा केही राहत मिल्छ।

No comments:

| Copyright © 2013 khabar chautari