रुघा खोकी बाट कसरी बच्ने त ??


मौसममा आएको सामान्य परिवर्तनसँगै भाइरल फिबर तथा रुघा लाग्ने क्रम बढेको पाइन्छ । वायुको 'ह्युमिडिटी' मा मौसम परिर्वतनसँगै आउने उथलपुथलले रुघा लाग्ने गर्छ । कसैकसैलाई धूवाँ, धूलोका एलर्जीले पनि रुघा लाग्न सक्छ । समान्यतया रुघा श्वासप्रश्वासको माध्यमबाट सर्छ । यो समूहमा बस्नेहरूलाई चाँडै सर्ने गरेको पाइन्छ । कारागार, छात्रावास, गण आदिमा धेरैलाई एकैसाथ रुघा लाग्ने गरेको पाइन्छ ।रुघा भाइरसको संक्रमणले गर्दा हुने सरुवा रोग हो । विभिन्न किसिमका भाइरसहरूले रुघा लगाउने गर्छ । हालसम्म करिब २०० जातका भारसले रुघा लगाउने गरेेको तथ्य सार्वजनिक भइसकेको छ । यी भाइरसहरूमध्ये राइनो भाइरस प्रमुख हो जसका कारण करिब ३०-३५ प्रतिशत रुघाका बिरामी पर्छन् । अन्य भाइरसहरूमा पाराइन्फुल्न्जा र रेस्पिरेटरी सेन्साइटल भाइरस हुन् । तर गर्मीयाममा लाग्ने रुघाको अर्को एक कारण कोरोना भाइरस पनि हो । रुघा सँगसँगै यी भाइरसले घाँटी, श्वासनली तथा फोक्सोमा समेत संक्रमण गर्न सक्छ । बालबालिकालाई हुने भाइरल निमोनियाँको कारक पनि कोरोना भाइरस हो ।
नाकबाट श्वास फेर्न गाह्रो हुने, पातलो सिंगान -पानीजस्तै) बग्ने, नाक बन्द हुने टाउको दुख्ने तथा भारी हुने, ज्वरो आउने, हाछ्युँ आउनेजस्ता लक्षण रुघाको हो । यसबाहेक सुख्खा खोेकी लाग्ने, घाँटी दुख्ने पनि हुन सक्छ । रुघा तथा भाइरसको संक्रमणका कारण कसैकसैलाई १०२ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ । तर सामान्यतया रुघा लागेका कारणले नै बिरामी सिकिस्त हुने गरेको पाइँदैन ।

रुघा लागेका बेला आराम धेरै गर्ने, तातो झोल पदार्थ, सुप सेवन गर्ने, नुनपानीले मुख कुल्ला गर्ने आदि गर्नाले धेरै राहत हुन्छ । नाक बन्द भएका बेला वा पातलो सिंगान बगेको अवस्थामा तथा घाँटी ख्याप्प बसेको अवस्थामा बाफ लिनु पनि राम्रो हो । सादा पानीको बाफले मात्रै पनि धेरै आराम दिन सक्छ । आजभोलि भिक्स वा सन्चो हालेर पनि बाफ लिने गरिन्छ । तर यसरी बाफ दिंदा बालबालिकालाई विशेष ध्यान पुर्‍याउनुपर्छ । बालबालिकालाई सुतेको अवस्थामा सादा पानीको बाफ दिनु नै राम्रो हो । शरीरको तापक्रम धेरै भएका बेला तथा रुघाले चापेको अवस्थामा खानामा धेरै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । स्वाभाविक रूपमा सन्चो नभएको अवस्थामा खानामा रुचि कम हुन्छ तर शक्ति धेरै चाहिएको हुन्छ । यस अवस्थामा चाँडो शक्ति दिने खाना रोज्नुपर्छ । यस्तो बेला सुप तथा झोल खानेकुरा प्रशस्त खाने गर्नुपर्छ ।
रुघा लागेका बेला टाउको दुखाइ कम गर्न तथा ज्वरो कम गर्न पनि 'सिटामोल' सेवन गर्न सकिन्छ । सिटामोलले टाउकामा दुखाइ कम गर्ने तथा ज्वरो पनि निको गर्ने भएकाले फाइदाजनक मानिन्छ । तर यसले रुघाको अवधिमा कुनै कमी ल्याउन सक्दैन । त्यस्तै रुघा लागेको अवस्थामा अत्यधिक प्रयोग हुने औषधि हो एन्टिहिस्टामिन समूहका औषधि । यस समूहका सिटि्रजिन, प्रोमेथाजिन, फेक्सोफेनाडिनजस्ता औषधिले संकुचित श्वासनलीलाई फुलाउँछ तथा बन्द नाकलाई खोलिदिन्छ र बिरामीलाई सास फेर्न सजिलो हुन्छ । आजभोलि श्वासनली फुलाउने

-डिकन्जेस्टेन्ट) र सिटामोल मिसाएका औषधिहरू पनि बजारमा पाइन्छन् । यस्ता औषधिहरूले बिमारीलाई आराम दिने भए तापनि रुघाको अवधिलाई छुट्याउन कुनै मद्दत भने गर्दैनन् ।

धेरै मानिसले रुघा लागेका बेला एन्टिबायोक्सीहरू खाने गर्छन् । एजिथ्रोमाइसिन, एमोक्सिलिनजस्ता एन्टिबायोटिक्सहरू धेरैले प्रयोग गर्ने गरेको भए तापनि यसले भाइरस अर्थात रुघाको जीवाणुमा कुनै प्रभाव पार्दैन । रुघा भाइरसले गर्दा लाग्ने रोग हो र एन्टिबायोटिक्सको प्रभाव ब्याक्टेरियामा हुन्छ भाइरसमा हँुदैन भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । त्यसैले रुघामा एन्टिबायोटिक खानु र नखानु बराबर नै हो । तर रुघा सँगसँगै साइनोसाइटिस -पिनास) वा अन्य श्वासनलीमा ब्याक्टेरियल संक्रमण पनि हुन सक्छ । यस्तो अवस्थामा मात्र चिकित्सकको सल्लाहबमोजिम आवश्यक एन्टिबायटिक्सहरू प्रयोग गर्नुपर्ने हुन सक्छ । यस अवस्थामा मह, अदुवा, मरिच, कागती पनि उपयोगी हुन सक्छ । त्यस्तै भिटामिन सी र जिंकजस्ता खनिज पर्दाथले रुघाबाट बचाउन मद्दत गर्छ । वषर्ाको पानीमा धेरै नभिज्नु, धूलो अनि धूवाँबाट जोगिनुले रुघाबाट बचाउन मद्दत पुग्छ ।

No comments:

| Copyright © 2013 khabar chautari