सर्लाहीमा राजमार्ग अवरुद्ध गर्न निस्किएका मधेसी मोर्चाका कार्यकर्ता लखेटिएका छन् ।तराई मधेसमा चुरे भावर प्रदेश मागिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीले राजमार्गमा अबरोध गर्न आएका मधेसी मोर्चाका सयौं कार्यकर्तालाई लखेटेको हो ।
मंगलबार दिउँसो पूर्वपश्चिम सर्लाहीको इश्वरपुर नगरपालिका–५ फुलजोर बजारमा मधेसी मोर्चाका कार्यकर्ता राजमार्ग अबरोध गर्न आएका थिए । तर, हजारौंको संख्यामा त्यहाँ तैनाथ चुरेभावरका कार्यकर्ताले बन्दको प्रतिकार गर्दै उनीहरुलाई तीन किलोमिटरर टाढासम्म लखेटेर पठाएको हो ।
चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपानेले राजमार्ग क्षेत्र भावर क्षेत्र भएकाले कुनै पनि हालतमा राजमार्ग अवरोध गर्न नदिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘चुरे भावर प्रदेशमा बन्द हड्ताल गर्न नदिने कार्यक्रम अन्तर्गत मधेसी मोर्चाका नेता कार्यकर्तालाई लखेट्यौं । मधेसमा हामीलाई भुरेभावर प्रदेश चाहिन्छ ।’
उहाँका अनुसार चुरे भावरका कार्यकर्ताले मधेसी मोर्चाका नेता चढेको ३५ वटा इण्डियन नम्बर प्लेटका बाईक तथा जीपहरु तोडफोड गरेको छ । ‘लखेट्ने क्रममा उनीहरुका भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड भयो । करिब तीन किलोमिटरसम्म लखेट्यौ,’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।
सर्लाहीका डीएसपी रमेश खड्काले बन्दको प्रतिकार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- सम्भावित खतरालाई ध्यानमा राखेर सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ, त्यस्तो अप्रिय घटना भएको छैन् ।’




No comments: