भूकम्पपीडित भन्छन्,आश्वासन मात्र नदेऊ सरकार...


पाचोक (लमजुङ): वैशाख १२ को भूकम्पले घर भत्काएपछि पाचोक-३, बारीगाउँकी गौसरी विकको परिवार पाचोकबेंसीमा सरेको छ। जस्ताले बारेको कटेरोमा आरान थापेर बस्दै आएको उनको परिवारले सरकारी तबरबाट हालसम्म कुनै पनि राहत रकम पाएको छैन। ऋण काढेर किनेको सस्तोखाले जस्ताको ओतले वर्षायाम धान्न मुस्किल छ।


पाँचजनाको परिवार पाल्ने बाटोनै आरनबाट आएको कमाइ हो। उनले भनिन्, 'ठूलो पानी पर्नासाथ त्यहाँ बसेर काम गर्न सक्ने अवस्था छैन। खानेबाटो यही हो।' हालसम्म केही नपाएपछि सरकारले पैसा देला र नयाँ घर बनाउँला भन्ने आस मर्दै गएको उनका श्रीमान् सन्तबहादुर विक बताउँछन्। नजिकै रहेको भीमबहादुर विको घर चर्किएर जोखिमयुक्त छ। जोखिम मोलेरै भए पनि उनी त्यही घरमा बसिरहेका छन्। रेडक्रसले दिएको १० हजारबाहेक उनले पनि हालसम्म राहतको नाममा केही पाएका छैनन्।

यिनीहरू मात्र होइनन् भूकम्पले तहसनहस पारेको पाचोकका अधिकांश पीडितको अवस्था यस्तै छ। तत्कालैको राहत १५ हजार र न्यानो कार्यक्रमको राहतसमेत अधिकांशले पाएका छैनन्। सरकारको पहिलो चरणको राहत पाएकाहरूको अवस्था पनि उस्तै छ। पाचोक सेर्लेनजिकै चारजनाको सुनक्यामा गुरुङको परिवार जस्ताको कटेरोमा बसिरहेको छ। 'झरी पर्नासाथ खान पकाउन सकिँदैन अरू कुरा त के गर्ने', भूकम्पपीडित उनले सोधिन्, 'कहिलेसम्म यसरी बस्ने हो ? ' घर बनाउन सरकारले पैसा दिन्छ भन्थ्यो, खै सरकारको आश्वासन मात्रै रहेछ।'

कक्षा १० मा पढ्ने उनकी छोरी मिरुती गुरुङलाई नयाँ घर बनेदेखि राम्रोसँग पढ्ने इच्छा छ। खाना खाने, सुत्ने, भाँडाकुँडा राख्ने कोठा एउटै हुँदा घरमा पढ्नै मुस्किल हुने उनको गुनासो छ।गाउँका केही घर र पाचोक मावि ब्रिटिस वयलफेयरले बनाइदिएको छ। कोही सरकारको बाटो कुरिरहेका छन्। कसैको घर बनाउन सक्ने हैसियत नै छैन। पहिलो चरणको रकम पाएकालाई दुई लाखको आस छ। रकम दिने सरकारको आश्वासन सम्झिरहेका छन् उनीहरू। 'आस गरेर त बसेको हो, सरकार आश्वासन मात्रै बाँड्ने रहेछ', स्थानीय तुलसी गुरुङ भन्छन्, 'अब त सरकारको भर लाग्न छोडिसक्यो।'

भूकम्पले तहसनहस बनाएको त्यहाँको माहोल अझै पूर्ण रूपमा तंग्रिसकेको छैन। जस्ताको टहरोमा गुजारा चलाउनु परेपछि विद्यार्थीहरूले राम्रोसँग पढ्न पाएका छैनन्। सुत्केरी महिला चिसो भुइँमा बस्न बाध्य छन्। जिल्लाका १३ हजार भूकम्पपीडितमध्ये अझै पाँच हजारले पहिलो चरणको राहत समेत पाएका छैनन्। वर्षायाम सुरु हुनै लाग्दासमेत प्राविधिकहरू गाउँ जान सकेका छैनन्।

'लमजुङको विकट गाउँ ढोडेनी-४ घलेगाउँकी देवीमाया घलको परिवारले भूकम्पले घर ढलाएपछि एक वर्षसम्म त्रिपालमुनि बसेर गुजारा चलायो। लेकको जाडोमा त्रिपालमुनिको चिसोमा बर्खा र जाडो छिचोल्न उनका लागि निकै कठिन थियो। तर विकल्प थिएन। आफैंले जोहो गरेको सानो त्रिपालमा बस्दा निमोनियाले परिवारलाई सताउन थालेपछि उनको चिन्ता बढ्दै गए यो। सरकारको आस गर्दै वर्ष दिन बिताउँदा पनि उनले आश्वासनबाहेक केही पाइनन्।

'घर पूर्ण क्षति भएको छ', उनले भनिन्, 'जहिले जाँदा पनि पछि आउँछ मात्र भने।' राहतका लागि धेरै पटक धाउँदा पनि केही नपाएको उनले गुनासो गरिन्। एक वर्षसम्म सरकारले सहयोग गर्छ कि बनेर बसे पनि सरकारले सहयोग नगरेपछि विदेशमा रहेका आफन्तसँग ऋण काढेर घर बनाउन लागेको उनले बताइन्। सरकारले पुनर्निर्माणमा ढिलाइ गर्दा सामान्य आयस्तर भएका भूकम्पपीडितहरू कोही ऋण काढेर घर बनाइरहेका छन्। स्थानीयले आलोपालो गरेर बनाएको उनको घर सरकारको नक्साबिनै बनिरहेको छ।

No comments:

| Copyright © 2013 khabar chautari