आजको जमानामा यस्तो सायदै होला जहाँ कुनै घरमा बलियो गरी ढोका लगाइएको नहोस् । तर भारतमा भने एउटा यस्तो गाउँ छ, जहाँका एक दुइ घरमा मात्र होइन पूरै घरमा ढोका नै लगाइँदैन । ढोका मात्र होइन झ्याल पनि खुल्लै छन् ।
भारतको महाराष्ट्रस्थित शनि सिंगनापुर गाउँ विना ढोकाका घरको गाउँका नामले चर्चित छ । यो गाउँका मानिस चाहे जुनसुकै धर्मका किन नहोउन् घरमा ढोका बन्द नहुनु सबैको साझा विशेषता बनेको छ । मानिसहरुलाई ढोका खुुल्ला छाड्नाले घरभित्र चोर पसेर चोरी गर्ला भन्ने कुराको फिटिक्कै चिन्ता छैन । चिन्ता होस् पनि किन ? अहिलेसम्म यहाँ कुनैपनि चोरी भएकै छैन ।
यस गाउँका घरमा ढोका नहुनुका पछाडि अनौठो कारण छ । शनि देवताका कारण यसो गरिएको बताउँछन् गाउँलेहरु । शनि महाराजले आफुहरुको घरको रक्षा गर्ने भएकाले ढोका लगाउन आवश्यक नपर्ने गाउँलेहरुको मान्यता छ । शनि देवताकै डरका कारण यो गाउँमा कसैले चोरी गर्ने आँट गर्दैन । घरमा ढोका ह्वांगै राख्ने यो चलन त्यहाँ साढे ३ सय वर्षदेखि चलिरहेको छ ।
किम्बदन्ती अनुसार साढे ३ सय वर्ष पहिले त्यो गाउँमा ठूलो वर्षाात हुँदा डुबानमा परी सबै घरका ढोका बगे । वर्षाकै दौरान भेलले ५ फुट भन्दा पनि लामो र १ फुट चौडा कालो पत्थर बगाएर गाउँमा ल्यायो । उक्त शिला गाउँको किनारामा एक रुखमा अडि्कएर ठाडो बन्यो । मानिसहरुले उक्त ढुंगालाई त्यहाँबाट हटाउन खोजे । तर त्यो पत्थर हटेन, उल्टै त्यसबाट रगत बग्न थाल्यो । त्यसपछि मानिसहरुले त्यो शिलालाई त्यत्तिकै छाडे ।
एक दिन एकजना गाउँलेको सपनामा शनि देवता प्रकट भएछन् र अबदेखि गाउँका कुनैपनि घरमा ढोका लगाउन आवश्यक नरहेको र शनिले सबैको रक्षा गर्ने कुरा बताएछन् । त्यो कुरा थाहा पाएसँगै गाउँलेहरुले उक्त शिलालाई शनि भगवान मानेर पुजा गर्न सुरु गरे, मन्दिर पनि बनाए । अनि घरमा ढोका लगाउन पनि छाडे । भएका ढोकाका खापा पनि निकाले । जुन संस्कार अहिले पनि चलिरहेको छ ।




No comments: