बाबु थुनिएपछि सात छोराछोरी भोकभोकै...


गौरः रौतहटको जिल्ला प्रहरी कार्यालय गौरमा रहेको थुनुवा घर अगाडी एकमहिला र सातजना बालबालिका दिनहुँजसो आएर रोइरहेका हुन्छन् ।

कमाएर ल्याउने घरमुली थुनामा परेपछि खान नपाएर बिचल्ली भएको भन्दै उनीहरु रोइकराइ गर्न सधैँजसो गौर आइरहेका छन् ।

चोरीमुद्दाको अनुसन्धानका क्रममा रौतहटको सरमुजुवा गाविस–१ का ४० वर्षीय गोरख साह प्रहरी हिरासतमा परेपछि उनकी पत्नी र सात छोराछोरी बिचल्लीमा परेका हुन् ।

साहलाई प्रहरीले औरया गाविसबाट माघ २० गते राति ट्याक्टरको समान चोरेको आरोपमा पक्राउ गरेको थियो । उनीसँगै रहेका अन्य पाँचजना भने फरार छन् । पाँचवटा साइकल उनीसँगै प्रहरीले बरामद भएका छन् ।

फुसले छाएको झुपडी बाहेक केही सम्पती नभएका साहका एक वर्षदेखि १२ वर्षसम्मका चार छोरा र तीन छोरी छन् ।

इँटाभट्टामा मजदुरी गर्दै आएका साहले पक्राउ पर्नुअघि जसोतसो दुई छाक खुवाउँदै आएका थिए । तर १५ दिनदेखि कमाएर ल्याउने मान्छै नै थुनिएपछि उनको परिवार बिचल्लीमा परेका हुन् ।

दिनहुँ छोराछोरी बोकेर जिल्ला प्रहरी कार्यलयमा धाइरहेकी साहकी पत्नी रन्जुदेवीले पति थुनिएपछि छोराछोरी भोकभोकै रहेको बताइन् ।

साहका एकजना पनि छोराछोरी पढ्न जाने गरेका छैनन् । पैसा नभएकाले पढ्न नगएको मेघनाथ साहले बताए । पाँचजना छोराछोरी विद्यालय जाने उमेरका छन् ।

पतिलाई छोड्न आग्रह गर्न दिनहुँ छोराछोरी बोकेर रन्जुदेवी प्रहरी कार्यालयमा आउने गरेको प्रहरीले जनाएको छ ।

उनका छोराछोरीलाई आएको बेला प्रहरीले खाना खान दिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोखरेलले भने ‘बाबु चोरी मुद्दामा अनुसन्धानको क्रममा छन् तर छोराछोरीको बिचल्ली रहेछ ।’

छिमेकीले केही दिन खानेकुरा दिए पनि ठुलो परिवार भएकाले कहिले भोकै कहिले एकछाक खाएर बस्ने गरेको ती महिलाले बताइन् । ‘बिहान खायो, बेलुका छैन, बेलुका खायो बिहान छैन बच्चाहरु भोकले रोइरहन्छन’, रन्जुदेवीले भनिन् ।

गरिबीका कारण परिवार पाल्न नसकेर चोरीडकैती जस्तो अपराधमा साह लागेको हुनसक्ने डिएसपी पोखरेलको भनाइ छ ।

No comments:

| Copyright © 2013 khabar chautari