जीर्ण पुलले ज्यानकै जोखिम...



फाल्गुन ११, दुई वर्षअघि जुम्लाको ताम्ती ८ डुग्रीकी १६ वर्षीया दीपा शाहीको पातडाव खोलाको जीर्ण पुलबाट खसेर मृत्यु भयो । गत वर्ष कोर्ताङ ८ का ६ वर्षीय गोरखबहादुर रोकाय र अर्का नाम नखुलेका व्यक्तिको पनि सोही पुलबाट खसेर मृत्यु भयो ।

कोर्ताङ ८ र दह ९ बीच पातडाब खोलाको जीर्ण झोलुंगेबाट खसेर तीन जनाको मृत्यु भइसक्दा पनि सम्बन्धित निकायले मर्मतमा वास्ता गरेका छैनन् । पुल १० वर्षदेखि जीर्ण अवस्थामा छ । मर्मत नहुँदा खोला वारपार गर्ने क्रममा दर्जनौं चौपाया बगेर मरिसकेका छन् । कोर्ताङका विरकुम बस्नेतका अनुसार जोखिम मोलेर पुल वारपार गर्नुको विकल्प छैन ।

१७ वर्षअघि कोर्ताङ गाविसले दुई लाख लागतमा निर्माण गरेको उक्त पुल सात वर्षमै जीर्ण भएको बस्नेतले बताए । ‘लठ्ठा मात्र बाँकी छन्, तिनैमा झुन्डिएर वारपार गर्ने गरेका छौं,’ उनले भने, ‘लठ्ठामा पनि खिया लागेको छ, तन्किएर खोला छुनै लागेका छन्,’ उनले भने ।

पुलबाट पञ्चाला दह चौकीका प्रहरी टोली, विद्यार्थी, स्थानीय बासिन्दा वारपार गर्छन् । दैनिक करिब ७० जनाले प्रयोग गर्दै आएको बस्नेतले बताए । प्रहरीलाई कोर्ताङ ७, ८ र ९ मा आवजावत गर्न समस्या भएको डीएसपी दानबहादुर मल्लले बताए । अरू ठाउँबाट जाने बाटोसमेत छैन । दह र कोर्ताङ गाविसका आधाभन्दा बढी वडामा आवतजावतका लागि पुल निर्माणको विकल्प नभएको प्रनाउ मल्लले बताए ।

पुनर्निर्माणका लागि जिविसलगायत निकायमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीय पदम शाहीले बताए । जिविसको योजना किताबको सूचीमा आएको वर्षौं बितेको छ । ‘तर, निर्माण चरणमा पुग्दैन,’ शाहीले भने । विकासे कर्मचारी तथा राजनीतिक दलका कार्यकर्ता यही पुलबाट आवतजावत गर्छन् तर निर्माणमा लागिपरेका छैनन् ।

No comments:

| Copyright © 2013 khabar chautari