कम्पनीले ८ महिनाको तलब नदिय पछी, २१ जना नेपालीको बिचल्ली परे...



साउदी अरब, फागुन ५ । रोजगारदाता कम्पनीले पारिश्रमिक नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ जना नेपाली बिचल्लीमा परेका छन् ।

दमामस्थित अलसत्रायन कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत् ती नेपाली कामदारले ८ महिनाको पारिश्रमिक पाएका छैनन् । रोजगारदाता कम्पनीले गत वर्षको जुलाईदेखि हालसम्मको पारिश्रमिक दिएको छैन ।

उनीहरु काठमाडौंमा रहेको स्काइवे म्यानेजमेन्ट प्रालि, डीएचआर डेस्टेनी हुमन रिर्सोस र न्यू एसभी इन्टरनेशलनमार्फत् साउदी आएका हुन् ।

बिचल्लीमा परेको भन्दै पीडितले उद्धारको आग्रह गरेका छन् । पीडितलाई खान–बस्नसमेत समस्या भएको छ ।

निर्माण क्षेत्रमा काम गर्ने उक्त कम्पनीले पछिल्लो समय बजारमा काम पाउन नसकेपछि कामदारलाई पारिश्रमिक दिन नसकेको बुझिएको छ ।

कम्पनीको आम्दानीको स्रोत बन्द भएको भन्दै पारिश्रमिक नदिइएको रामेछापका श्याम खड्काले बताए ।

कम्पनी सन्चालकले कम्पनीमा आर्थिक अभाव भएको भन्दै पारिश्रमिक दिन मानेको छैन’–उनले भने ।

पारिश्रमिक नपाएको विषयमा तीन महिना अगाडि नेपाली दूतावासलाई लिखित जानकारी गराएपनि सुनुवाइ नभएको पीडितको गुनासो छ ।

‘दूतावासलाई पटक–पटक उद्धार गरी पाउँ भनी निवेदन दिँदै आएको छौं’–खोटाङका खड्कबहादुर कटुवालले भने । पारिश्रमिक नपाएपछि काम छाडेर बसेको चार महिना बितेको पीडितले बताएका छन् ।

पारिश्रमिक नदिएपछि स्वदेश पठाइदिन आग्रह गर्दै आएपनि कम्पनीले स्वदेश फर्कन दिएको छैन । रोजगारदाताको बेवास्ताका कारण नेपाली कामदार एउटै कोठामा कोचिएर चिसो भुइँमा सुत्न बाध्य छन् ।

‘कतारबाट भाइसँग पैसा मगाएर खाना खाने जोहो मिलाएँ’–इटहरीका आनन्द खतिवडाले भने ।

न्यायका लागि दुई महिनाअघि श्रम अदालतमा मुद्दा हालेपनि अदालतले समेत सुनुवाइ नगरेको उनको गुनासो छ ।

दाङका गंगाबहादुर पुन मगर ऋण काढेर मेनपावर कम्पनीलाई रु एक लाख १० हजार बुझाएर १४ महिनाअघि साउदी आएका हुन् ।

No comments:

| Copyright © 2013 khabar chautari