भूकम्प पीडितका लागि काभ्रेमा नमुना बस्ती नै बनाएका र त्यसयता मुलुकभर सरसफाइ अभियानमा लागेका हास्य कलाकार जोडी सीतराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) महोत्तरीको लोपोन्मुख मुसहर बस्तीमा पुगेका छन् ।
चिसोसँगै शीतलहर चलिरहेको बेला बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पुगेर उनीहरूले एकीकृत विकासको पहल थालेका हुन् ।
करिब ६० घरधुरीका ४ सय २० जनसंख्या रहेको बस्ती पुगेपछि आफू छक्क परेको धुर्मुसले सुनाए । ‘एक सय मिटरको दूरीमा स्कुल छ, तर कुनै पनि मुसहर बालबालिका स्कुल गएको देखिएन,’ धुर्मुसले भने, ‘चिसोमा सबै छाप्रो छेउछाउ लुगलुग काम्दै बसेका भेट्यौं । बालविवाह र कुपोषणको समस्या उस्तै ।’
दुई घण्टा मुहसर बस्तीमा बिताएको यो जोडी यसपछि छेवैको जनता उच्च मावि बर्दिवाससमेत पुगेर सहायक प्रधानाध्यापक दीलिप तिवारीसँग भेट गरेका थिए ।
वर्षेनी भर्ना अभियान चलाए पनि मुसहरहरू विद्यालय आउन नमानेको, भर्ना भइहाले पनि रजिस्टरमा मात्रै सीमित भएको, छात्रवृत्तिको समेत उचित प्रयोग नभएको जस्ता समस्या भेटिएको धुर्मुसले सुनाए ।
‘त्यत्रो बस्तीमा १८ वर्षीय मञ्जय सदा मात्रै साक्षर रहेछन्,’ धुर्मुसले भने, ‘सिंगो बस्तीको हालत यति नाजुक कि आयआर्जन्को नाममा जंगलको दाउरा मात्रै रहेछ, दाउरा बिक्री नभएको दिन चुल्हो बल्न मुस्किल ।’
आफ्ना पुर्खाहरूले बर्दिवास छेउको यही थलोमा जंगल फाँडेर बस्ती बसालेको दाबी गर्ने मुसहरहरू अझै पनि ऐलानी जग्गामा छन् । ‘रोचक के भने थुप्रै गैरसरकारी संघसंस्थाले काम गरेको भए पनि बस्तीमा कुनै परिवर्तन आएको रहेनछ,’ उनले भने, ‘खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ, अधिकांश घरमा शौचालय सुविधा छैन । धाराको बनाइएको छ, पानी झर्दैन ।’
विकास सँगसँगै मुख्य कुरा चेतना र सशक्तीकरण रहेको बताउँदै यो बस्तीको एकीकृत विकासका लागि सरोकारवालालाई अपिल गर्दै आफूहरू पनि लागिपर्ने धुर्मुसले बताए ।




No comments: