१२ वर्षदेखि यात्रु बस चलाउँदै आएका धर्म कार्कीले गाडी चलाउँदा अहिलेसम्म कहिल्यै दुर्घटना गराएका छैनन् । पालो सिस्टममा बाग्लुङ–काँकडभिट्टा र धरान–पोखरा चल्ने ना५ख ४९५५ नम्बरको बसका चालक कार्कीले केही दिनअघि धनुषाको बडहरेमा भने निकै ठूलो पीडा भोग्नुपर्यो । ठूलै मानवीय क्षति हुने खतरा उनकै होसियारीले टर्यो।
प्रहरी सुरक्षाभित्र गाडी चलाइरहँदा तराईमा आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले एक्कासि ढुंगा प्रहार गरे । पश्चिमबाट काँकडभिट्टा फर्कदैं गर्दा अगाडिको ट्रकले ब्रेक हान्यो, उनले चलाएको गाडीको गति कम हुनेबित्तिकै आन्दोलनकारीले ढुंगा प्रहार गरी आक्रमण गर्न थाले ।
'एक्कासि असिना बर्सिएजस्तै ढुंगाले गाडीको अगाडिपट्टि हाने, हाफ हेल्मेट लगाएको थिएँ । जोगिन खोज्दा ढुंगाले मुखमै लाग्यो, एउटा दात झर्यो, अरू केही हल्लिएँ,' उनले भने, 'त्यति गर्दा पनि यात्रुलाई जोगाएर गाडी अगाडि बढाएँ।'
ढुंगाले मुखमा लागेर दाँत झर्दा रगताम्य भइसकेका उनले सबै यात्रुलाई सकुशल राख्न गाडी अगाडि बढाए। 'आन्दोलनकारीले त्यसरी ढुंगा हानेको सम्झँदा अहिले पनि आङ सिरिङ हुन्छ,' उनले भने, 'आन्दोलनकारीले मलाई त्यसरी ढुंगा हानेका बेला मैले होसियारी नअप्नाएको भए अरू थुप्रै यात्रु असुरक्षित हुन्थे ।' अहिले उनको हल्लिएको दाँत बस्न थालेको छ । गाडी लगातार स्कर्टिङमै चलाइरहेका छन् । अरू दिन लुकिछिपी गाडीमाथि ढुंगा हान्ने आन्दोलनकारीले त्यो दिन भने छेउमै आएर हानेका थिए।
दुई साताअघि धनुषाकै पूर्वी भागमा ना४ख ९८३० नम्बरको बसको अगाडि भागमा आन्दोलनकारीले ढुंगा हाने । चालकलाई कस्सिएर हानेको ढुंगा सहयोगी उदयपुर घर भएका कर्ण विकले देखे । चालकले स्टेयरिङ छाडेनन्, तर विक आत्तिएर ढोकाबाट तल खसे। उनी सडकमा पछारिए । निधारमा गहिरो चोट लाग्यो, उनी बेहोस् भए । उनलाई तत्काल उपचारनिम्ति विराटनगर गोल्डेन हस्पिटल ल्याइयो ।
उनलाई हस्पिटलले डिस्चार्ज गरिसकेको छ । अहिले चिकित्सकको सल्लाहाअनुसार उनी घरमै आराम गरिरहेका छन् । चिकित्सकले उनलाई छ महिनासम्म हावा पस्ने हुँदा काम नगर्न सुझाएका छन् । 'छ महिनासम्म हावाले असर गर्छ काम गर्न हुँदैन भनेर डाक्टरले भन्नुभएको छ, काम नगरे पनि हुँदैन । अब सन्चो भएपछि गाडीबाहेक अन्यत्रै काम खोजेर गर्नुपर्ला ।'
तीन महिनादेखि प्रदेश सीमांकनप्रति असन्तुष्ट संयुक्त मधेसी मोर्चाले तराई–मधेसमा बन्द–हड्ताल आह्वान गर्नाले यातायात क्षेत्र असुरक्षित बनेको छ । पोखरा–काँकडभिट्टा चल्ने ना५ख २०४७ नम्बरको बसका चालक हिराबहादुर खड्काका अनुसार आन्दोलनकारीले चालकलाई लुकेर ताकी–ताकी ढुंगा हान्ने गरेका छन् । कहीं–कहीं गुलेली पनि हान्ने गरेका छन् ।
आन्दोलनकारीले उनको गाडी तोडफोड गरेको छपटक पुगिसक्यो । उनले ड्राइभिङ गरेको २० वर्ष बित्तिसकेको छ । तर, मधेसवादी दलका कार्यकर्ताले गरेजस्तो अरू कसैले गरेका थिएनन् । 'माओवादीको जनयुद्धमा पनि आन्दोलनकारीले गाडीबाट यात्रुसँगै गाडी स्टाफलाई उतारेर आगजनी गर्थे,' उनले विगत सम्झँदै भने, 'आन्दोलनकारीले सारै अमानवीय व्यवहार गरिरहेका छन् ।' उनी आफूलाई पर्फेक्ट चालक भएको दाबी गर्दै आन्दोलनकारीबाट बचेर सबै यात्रुलाई सकुशल गन्तव्यसमम पुरायाएको बताउँछन् ।
पूर्वबाट राजधानीसँगै पश्चिम नेपालका लागि चल्ने १० प्रतिशत यात्रुवाहक बस मात्र सद्दे छन् । 'आन्दोलनकारीको निशानामा नपरेका यात्रु बस त एकदमै थोरै छन्,' ना५ख ३६२१ नम्बरको बसका कन्डक्टर राजु कार्कीले भने, 'पूरै जोखिम मोलेर यात्रुलाई ओर्सानुपरेको छ ।' थुप्रै व्यवसायी र यात्रु घाइते भएका छन् ।
अहिलेसम्म पूर्वाञ्चलमा आन्दोलनकारीले तोडफोड गरेका यात्रु बस, घाइते व्यवसायी र यात्रुको यकिन विवरण कसैसँग छैन् । पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीसँग ५२ वटा यात्रु बस स्कर्टिङक्रममा तोडफोड भएको मात्र रेकर्ड छ । 'थुप्रै बस तोडफोड गरे पनि सबै रेकर्ड राखिएको छैन, जजसले बस तोडफोड भयो भनेर टिपाउने गर्छन्, त्यसैको मात्र रेकर्ड राखिएको छ,' क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका सई होम दाहालले भने ।
यात्रु बस तोडफोड गर्नाले पछिल्लो समय चालकले अनिवार्य हेल्मेट लगाउने गरेका छन् । गाडीका सिसा जोगाउन केहीले भने जाली लगाएका छन् । कतिपयले बाक्लो प्लास्टिककको टेपले चालकले हेर्ने भागमा सिसा राखेर टालेका छन् । गाडीको वरिपरि फुटेका सिसा नयाँ लगाउनेको सट्टा विकल्पमा कार्टुन–टेप लगाएर टाँसिएको पाइन्छ । 'एकपटक फुटाए सिसा पनि नयाँ लगाउनु तोडफोड गरेको गर्यै गर्छन, बरु दुःख गरेर चलाउनु नै बेस,' बस चालक शम्भु घिमिरेले भने ।
यातायात क्षेत्रमा कार्यरत मजदुर सरकार र मधेसकेन्द्रित नेताबीच वार्ताबाट निकास निस्कियोस् भन्ने प्रतीक्षामा छन् । तर, चरणबद्ध रूपमा भएका वार्ताले कुनै गति लिएको छैन ।
हिमाल, पहाड र तराई जहाँसुकै बस्ने सम्पूर्णको जीवनमा यतिबेला देखिएको कठिनाइको कुनै हिसाब छैन । आन्दोलनकारीले जथाभावी आक्रमण गर्दा के हुने कुनै टुंगो नहुने ना४ख ६८८७ नम्बरको बसमा चितवन हिँडेका विराटनगरका कृष्ण लुइँटेलले भने, 'भगवान् भरोसा कति बेला के हुन्छ कुनै टुंगो छैन ।' उनले भगवान् पुकार्दै थपे, 'बाटोमा केही नहोस् भन्ने कामना गर्छु ।'
दसैं बिदामा घर फर्कंदा आफू चढेकै गाडीमा आन्दोलनले आक्रमण गरेको प्रत्यक्ष देखेका मोरङका किरण थापा पनि बुधबार राजधानी फर्कंदैछन्, त्रासैत्रासबीच । 'दसैंमा घर आउँदा त कही भएन, अब जाँदा चिन्ताले सताएको छ,' राजधानीमा होटल व्व स्थापन पढिरहेका उनले भने, 'फर्कंदा पनि केही नहोस् ।'
मध्यरातमा स्कर्टिङ हुने यात्रु बस दिनहँु तोडफोड हुने गरेका छन् । 'प्रहरी हाई अलर्टमा रहँदा पनि आन्दोलनकारीले यात्रु बसमा ढुंगा दिनहुँ हान्छन्,' इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले नागरिकसँग टेलिफोनमा भने, 'मेरो एरियामा ठूलो क्षति हुन पाएको छैन ।'
यातायात व्यवसायीका अनुसार सबैभन्दा बढी आन्दोलनकारीले धनुषाको पूर्वी क्षेत्र, सप्तरीको भारदह, सिरहाको मिर्चैया, सुनसरीको दुहवीमा बढी गाडी तोडफोड गरेका हुन् । 'स्कर्टिङका बेला बीच–बीचमा गाडीको गति कम हुनेबित्तिकै आन्दोलनकारीले ढुंगाले हान्ने गरेका छन्,' रात्रि बस सञ्चालक इटहरीका गौरी लामाले भने, 'आन्दोलनकारीको मनासय चालकले गाडी नचलोस् भनेर निशाना बनाएको पाइन्छ ।' पूर्वाञ्चलका मेची, कोसी र सगरमाथाबाट ३ सय हाराहारीमा यात्रुवाहक बस छुट्ने गरेका छन् । मेची अञ्चल र कोसीको पहाडी जिल्लाबाट चल्ने यात्रु बस इटहरीसम्म बिनास्कर्टिङ आउने गरेका छन् । सगरमाथाका विभिन्न स्थानबाट चल्ने सवारी साधन भने स्थानीय प्रहरीको को अर्डिनेसनमा बीचमा मिसिने गर्छन् ।
विराटनगरबाट चल्ने बस भने स्कर्टिङमै इटहरीसम्म आउने गरेका छन् । इटहरीबाट हरेक दिन राति ९ बजेदेखि १२ बजेभित्र अनुकूल समय मिलाएर स्कर्टिङ हुने गरेको छ । प्रहरीले स्कर्टिङ गर्दा सुरुआतमा नेपाल प्रहरी, बीचमा ट्राफिक र अन्तिममा सशस्त्रको टोली राखेर क्षेत्रगत आधारमा गर्छ । संवेदनशील क्षेत्रमा स्थानीय प्रहरी कार्यालयका प्रहरीलाई हाई अलर्टमा राखिएको हुन्छ ।
गत वैशाख १२ मा गएको भूकम्पले थिल्थिलो पारेको सर्वसाधारणको जीवनलाई मधेसवादी दलको बन्द–हड्तालले मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको काठमाडौं–काँकडभिट्टा चल्ने ना५ख ३२८४ नम्बरको बसका चालक विज्ञान तामाङ बताउँछन् ।
अर्कातिर यही अवधिमा पूर्वाञ्चलमा दुर्घटनामा परी ज्यान गुमाउनको संख्या बढेको छ । भदौ २७ देखि कात्तिक २९ सम्मको दुई महिनाको अवधिमा मात्र पूर्वाञ्चलका भएका दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । तीन सय ७७ वटा सवारी साधन दुर्घटनामा परेपछि सय ९९ जना घाइते भएका छन् । क्षेत्रीय ट्राफिक प्रहरीको तथ्यांकअनुसार भदौ १ देखि २६ सम्म भएका दुर्घटनामा १४ र साउन महिनामा २७ को मृत्यु भएको छ ।
यसरी पछिल्लो समय सवारी साधन कम चले पनि आन्दोलनकारीले ढुंगा हान्ने त्रासले तुफान गाडी चलाउनु र त्रासले गर्दा स्वभाविक अवस्थमा मनस्थिति नहँुदा दुर्घटना बढेको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी पवनकुमार गिरी बताउँछन् । 'हतास मनिस्थितिमा सवारी चलाउँदा स्वाभाविक रूपमा दुर्घटना हुने गर्छ,' गिरीले भने । बन्द–हड्तालले बिथोलिएको स्थिति स्वाभाविक अवस्थामा फर्किए जनजीवन सहज हुनेछ ।




No comments: