कोरला नाका खोल्न वार्ता ...



बागलुङ- नेपाल-चीनबीचको कोरला (नेचुङ) नाका खोल्न आवश्यक पूर्वाधार निर्माण अघि बढाउन दुई देशका सरकारी अधिकारी सहमत भएका छन्। चीन र नेपालका भन्सार अधिकारीले सीमा क्षेत्रका ७ स्थानमा नाका खोल्ने निर्णय गरेसँगै तिब्बत र मुस्ताङका सरकारी अधिकारीबीच भएको द्विपक्षीय छलफलमा उक्त निर्णय भएको हो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेशबहादुर अधिकारी नेतृत्वको ६ सदस्यीय टोली र तिब्बतको झोङवासेन जिल्लाका चिफ माई भुजुङ नेतृत्वको टोलीबीच उपल्लो मुस्ताङको लोमान्थाङमा वार्ता भएको थियो।
चिनियाँ अधिकारी नाका खोलेर व्यापार बढाउन इच्छुक रहेको अधिकारीले बताए। 'चिनियाँ पक्ष सकारात्मक भएपछि सीमा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण अघि बढाउने सहमति भएको छ,' प्रजिअ अधिकारीले भने, 'भारतले नाकामा अवरोध गरिरहेको बेला यो नाका उपयुक्त विकल्प हुने हाम्रो ठहर हो।'
केरुङ र तातोपानीभन्दा यो निकै उपयुक्त भएको चिनियाँ अधिकारीले बताएका थिए। 'उच्च सरकारी तहबाट प्रयास भए १५/२० दिनमा नाका सञ्चालनमा ल्याउन सहमत छन्,' प्रजिअ अधिकारीले भने, 'उनीहरुको लागि बजार बन्ने भएकोले अग्रसरता देखाएका हुन्।'
सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाकाको भौतिक अवस्था (सडक र पूर्वाधार) बारे अध्ययनसहित वार्ताको लागि चिनियाँ टोली यता आएको थियो। 'सबै पूर्वाधार पूरा गरी राजदूतावासमार्फत नाका खोल्ने पहल गर्न उनीहरुको आग्रह छ,' प्रजिअ अधिकारीले भने, 'हामी पनि अब तयारीमा जुटेका छौं।'
औपचारिक रुपमा नाका नखोले पनि उपल्लो मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, लत्ता–कपडा लगायत सामग्री तिब्बतबाटै ल्याउँछन्। उपल्लो मुस्ताङका स्थानीयलाई चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङवासेन जिल्ला पानी–पँधेरो जस्तै हो। मुस्ताङसँग सीमा जोडिएको तीब्बतको २४ नम्बर पिल्लर नकिकैबाट उनीहरु आवतजावत गर्छन्।
व्यक्तिगत प्रयोजनका सामान तिब्बतबाट किन्दै आएका स्थानीयलाई कोरला नाका औपचारिक रुपमा सञ्चालनमा ल्याउने चीन र नेपालबीच भएको सम्झौताले उत्साहित बनाएको छ। भारतको अघोषित नाकाबन्दीपछि यो नाका चर्चामा आएको छ। मुस्ताङ सदरमुकाम जोमसोमबाट तिब्बतको कोरला नाकासम्मको दुरी ९२ किलोमिटर मात्र छ। जोमसोमदेखि सीमासम्मै ट्रक, बस, जिप पुग्छन्। जोमसोमदेखि कागबेनी, छुसाङ, घमी, सुरकाङ, चराङ, लोमान्थाङ हुँदै छोनुप, छोसेरबाट सीमा क्षेत्र पुगिन्छ। कच्ची बाटो निर्माण भएपछि सवारी गुड्न थालेका हुन्। छोसेर गाविस तिब्बतको झोङवासेन जिल्लासँग जोडिएको छ।
सीमासम्मै सडक पुगेको मुस्ताङका स्थानीय विकास अधिकारी हरिप्रसाद बास्तोलाले बताए। मुस्ताङदेखि कोरलासम्मको सडक सामान्य स्तरोन्नति गरे ठुल्ठूला ट्रक पनि सजिलै जान सक्ने स्थानीय बताउँछन्।
कोरला नाकामा खालि समथर भूभाग भएकाले अन्य पूर्वाधार निर्माण गर्न सजिलो छ। अहिलेसम्म जिल्ला प्रशासन कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सीमित व्यक्ति तिब्बत आउजाउ गर्छन्। 'चिनजानका व्यवसायीलाई मात्र तिब्बतीले प्रवेश दिन्छन्,' उपल्लो मुस्ताङका संखलाल गुरुङले भने।
तिब्बतबाट १ सय १२ रुपैयाँ लिटरमा डिजेल ल्याउने गरेको गुरुङले जानकारी दिए। 'उपल्लो मुस्ताङमा तिब्बतबाटै तेल ल्याउने गरिएको छ,' उनले भने।
विक्रम संवत १९७४ ताका तिब्बतीले यही नाका हुँदै 'खम्पा विद्रोह' गरेकाले पनि चीनले सुरक्षाको कारण देखाउँदै बन्द गरेको थियो। सो नाकामा नेपालको भन्सार कार्यालय, सीमा सुरक्षा बल, क्वारेन्टाइन लगायतसरकारी कार्यालय छन् भने शसस्त्र प्रहरीको सीमा सुरक्षा बलको पोस्ट पनि लैजाने तयारी छ। नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम विकल्पको रुपमा रहेकोले सो नाका सञ्चालनमा ल्याउनुपर्ने मुस्ताङका सभासद रोमी गौचन थकालीले बताए।

No comments:

| Copyright © 2013 khabar chautari