नयाँदिल्ली: भारतले आगामी चार दिनभित्र सीमा नाकाबाट इन्धन र उपभोग्य वस्तुको नेपालतर्फ आपूर्ति खुकुलो पार्ने संकेत दिएको छ। तर पूर्ण रूपमा नाकाबन्दी हटाउने विषयमा भने भारतीय अधिकारी मौन देखिएका छन्।चार दिनभित्रमा इन्धन र औषधि बोकेका ट्रकलाई नेपालतर्फ जाने व्यवस्था मिलाउन भारतीय पक्षले तयारी गरिरहेको स्रोतले जनायो।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूसँगको वार्तामा भारतीय भन्सार अधिकारीले भारततर्फ रोकिएका नेपाली ट्यांकर तथा मालवाहक गाडी पठाउन 'फास्ट ट्र्याक' प्रक्रिया अपनाइने आश्वासन दिएका हुन्।
वीरगन्ज नाका अवरुद्ध रहेका कारण अन्य नाकाबाट इन्धन र औषधि पठाउने सोचाइ बनाइएको भारतीय पक्षले जनाएको छ। वीरगन्ज-रक्सौल नाकामा मात्रै नेपाल भित्रिनुपर्ने ४८ सय ट्रकका लागि भारतले अनुमति दिएको छैन। दूतावासका इकोनोमिक काउन्सिलर ढुण्डीराज पोखरेलले भारतीय भन्सार अधिकारीलाई आपूर्ति सहज बनाइदिन अनुरोध गरिएको बताए। भारतीय नाकाबन्दीका कारण नेपालमा औषधिलगायत अत्यावश्यक वस्तुको चरम अभाव देखिएको छ।
वीरगन्जस्थित नाकामा मधेसी दलले प्रदर्शन गरिरहेकाले मालवाहक सवारीसाधन नेपाल भित्रिन नसक्ने भारतको दाबी छ। तर अन्य सीमा नाकाबाट पनि नेपालतिर इन्धन भित्रिन नसकेको विषयमा भारत मौन छ। नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायसँग आइतबार भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चाँडै नाकाबन्दी हट्ने आश्वासन दिएका थिए



No comments: